काठमाडौं, कात्तिक १६ — सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायपालिकासँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्यतथ्यमा आधारित हुन र छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित नगर्न सम्बन्धित सबैमा आग्रह गरेको हो।
अदालतले न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचारले आम नागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर पर्न नहुने जनाएको छ। न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले आग्रह गरेको छ।
पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सार्वजनिक रूपमा आएका विषयमा बिना पूर्वाग्रह, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिन गरी सत्यतथ्यसहित निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
त्यस्तै, समाचारमा उठाइएका विषयको छानबिन तथा अनुसन्धानका क्रममा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता र सहयोगका लागि प्रतिबद्ध रहेको अदालतले जनाएको छ।
प्रेस विज्ञप्तिमार्फत अदालतले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायाकर्मीहरूलाई समेत आग्रह गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार डा. अशोककुमार दाहालद्वारा जारी विज्ञप्तिमा पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
