Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

राष्ट्रपति पौडेल र सभामुख अर्याल विच भेटवार्ता


  • शुक्रबार, कार्तिक २१ २०८३

  • राष्ट्रपति पौडेल र सभामुख अर्याल विच भेटवार्ता

    २०८३ कात्तिक २० गते, काठमाडौं ।
    राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्माननीय सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज राष्ट्रपति भवनमा भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो।

    त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराउनुभयो।

    भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराउनुभयो।

    यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग सम्माननीय राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराउनुभयो।

    भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताउनुभयो। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उहाँले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राख्नुभएको थियो।

    भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij