काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षमै चर्को गुटबन्दी भए पछि उक्त समूह अनिर्णयको बन्दी बन्न पुगेको छ । गगन थापा पक्षले महाधिवेशन सम्पन्न गरिसक्दा देउवा पक्ष आवश्यक निर्णय लिन नसकेर सुस्ताएको छ । देउवा पक्षका नेताहरूमा देखिएको एक अर्का प्रतिको अविश्वास र पुरातन शैलीले गर्दा समग्र समूह नै गतिहिन बनेको छ ।
धर्मको विषयवाट सुरु भएको गुटबन्दी अहिले गहिरो बन्दै गएको छ । राष्ट्रिय भेलाले सनातन हिन्दू राज्य हुनेछ भन्ने प्रस्ताव पारित गर्दा नै उक्त समूहमा विवाद सार्वजनिक भएको थियो । घोषणाकै क्रममा नेता विमलेन्द्र निधिले आपत्ति जनाएका थिए ।
निवर्तमान कार्यवहाक सभापति पूर्ण वहादुर खड्का निकट मिन विश्वकर्मा सहितको ठूलो समूहले सोहि कारण देउवा समूह त्यागेर गगन पक्षमा प्रवेश गरेका हुन ।
नेताहरूको बेमेल र अविश्वासकै कारण केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास सफल हुन सकेको छैन । गगन पक्षमा लागेकाहरुको ठाँउमा नयाँ मनोनयन गर्ने योजना अलपत्र परेको छ । तरण दल, नेवि संघ जस्ता भातृसंस्थाको तदर्थ समिति गठन गर्ने कार्य पनि अघि बढ्न सकेको छैन ।
सर्वोच्च अदालतबाट आधिकारिकता सम्बन्धी मुद्दामा पाएको पुनरावलोकन सम्बन्धी निस्साको समेत देउवा पक्षले राजनितिक फाइदा उठाउन सकेको छैन । अदालतले फैसला पुनरावलोकन गर्न दिएको आदेशले दुवै पक्षलाई वरावरको अवस्थामा पुऱ्याएको र तथ्य, प्रमाण, विधान, नजिर आदिको आधारमा अर्को फैसला हुने भनि गरेको आदेशलाई समेत यो समूहले प्रष्टसंग बुझाउँन सकेन ।
वडा देखि जिल्ला अधिवेशन सम्म आइपुग्दा केन्द्रीय नेताहरुको सक्रियता र भूमिका न्युन देखियो । जसले गर्दा अधिवेशन कर्मकाण्ड जस्तो मात्रै बन्न पुग्यो ।
देउवाका वरीपरि रमाएका नेताहरू आपसी स्वार्थ, व्यक्तित्वको टकराव र पुरानो कार्यशैलीले थप कमजोर अवस्थामा पुऱ्याएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
