दुबई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कोप–२८ मा सहभागी हुने क्रममा बिहीबार साँझ दुबईमा नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै उहाँले नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो ।
युएईकाे उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभयाे।
युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताउनुभयो ।
दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताउनुभयाे ।
नेपाल उद्याेग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
