काठमाडौं– सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ः०० बजे आईपीओ बाँडफाँड गरिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कुल आवेदकको १६ प्रतिशत अर्थात २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कुल आवेदक मध्ये ८४ प्रतिशत अर्थात १३ लाख ५३ हजार बढी आवेदकको हात खाली भएको छ ।
कम्पनीले चैत्र ६ गते शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था रहको थियो । आईपिओमा १५ लाख ६५ हजार ५३० वटा आवेदन परेकोमा ५ हजार ७२८ आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदन बाहेकका १५ लाख ५९ हजार ८०२ आवेदकलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
