Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

प्रधानमन्त्रीलाई संविधानले कुनै विशेषाधिकार दिएको छैन


  • बुधबार, फाल्गुन ५ २०७७

  • प्रधानमन्त्रीलाई  संविधानले  कुनै विशेषाधिकार दिएको छैन

    काठमाडौं–प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट बुधबार राय दिने क्रममा वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले संविधानले उल्लेख नगरेको अधिकार प्रधानमन्त्रीलाई नहुने बताएका छन् । खरेलले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताए । उनले संविधान विपरित भएको विघटनको निर्णय बदर गर्न राय दिए ।
    उनले आफ्नो राय ४ विषयमा केन्द्रीत रहेर गरेका थिए । जसमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटनको अधिकार छ कि छैन ?, संसदीय अभ्यासमा विघटनको अधिकार कार्यकारीभित्र रहन्छ कि संविधानमा हुन्छ ?, संसद विघटनमा न्यायिक पुनरावलोकनको निर्णय हुन्छ कि हुँदैन ? र राजनीतिक विषय हो कि होइन भन्ने विषय समेटेका थिए ।

    उनले संविधानले उल्लेख नगरेको अधिकार प्रधानमन्त्रीलाई छ भनेर भन्न नमिल्ने जिकिर समेत गरे । धारा ७६ र ८५ मा बाहेक संविधानले विघटनको कुरा देखाउन नसकेको बताउँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीले गर्न पाउँछ भने पनि ७६ बाहेक अन्त देखाउन नसकेको उनले बताए।
    ‘विघटन वर्तमान संविधान विपरित छ । यसलाई बदर गर्नुपर्छ । संविधानको धारा ७६ (५) भन्दा बाहेक अन्त प्रधानमन्त्री जान मिल्दैन । विघटन गर्दा संविधान बमोजिम भन्दा बाहिर जाने काम भएको छ’, उनको निष्कर्ष छ ।

    बहसका क्रममा उनको भनाइ थियो, ‘संसद विघटन गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न संवैधानिक हो । त्यहाँभित्र राजनीति जोडिन सक्छ । राजनीतिक प्रश्न भएकाले बोल्दै मिल्दैन भन्ने होइन । यसलाई ग्रहण गर्न मिल्छ । विघटनलाई अदालतले व्याख्या गर्नुपर्छ ।’
    उनले धारा ८५ को व्यवस्था अनुसार संविधान बमोजिम विघटन भनिएपनि कहाँबाट भनेर विशेष किटान जरुरी रहेको बताए। ‘त्यो भनेको धारा ७६ नै हो । यो धाराबाहेक अरु धाराले विघटनको व्यवस्था देखाउन सकेको छैन । ’
    उनले हाम्रो प्रणाली संवैधानिक सर्वोच्चता भएको भन्दै संसदीय सर्वोच्चता नभएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij