Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्र बैंकले गर्‍यो दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही


  • बुधबार, माघ ९ २०८१

  • राष्ट्र बैंकले गर्‍यो दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही

    काठमाडौं – केन्द्रिय बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गरिमा विकास बैंक लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेड लाई कारबाही गरेको हो ।

    गरिमा विकास बैंकले कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले संस्थालाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले बैंकले जनाएको छ।

    कर्णाली डेभलपमेन्ट बैंकलाई भने राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख. बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा ८६ग. को उपदफा (२) मा भएको व्यवस्था बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरि र सोही ऐनको दफा ८६ग. को उपदफा (१) बमोजिम संस्थाको सञ्चालन तथा व्यवस्थापन यस बैंकबाट गठित व्यवस्थापन समुहमार्फत आफ्नो नियन्त्रणमा लिएको हो।

    त्यस्तै पोखरा फाइनान्सको सञ्चालक समितिले आफै वा आफु अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजम सचेत गराएको छ।

    त्यस्तै सेन्ट्रल फाइनान्सले मिति २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्म को अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा राष्ट्र बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ ( संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम फाइनान्सलाई पहिलो पटकका लागि रु.९१०६।०९ नगद जरिवाना गरेको हो।

    त्यसैगरी  राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ।

    राष्ट्र बैंकले विकास बैंक तर्फ महालक्ष्मी विकास बैंक लिमिटेड, लुम्बीनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, मुक्तीनाथ विकास बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड , गरिमा विकास बैंक लिमिटेड, र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका सीइओलाई सचेत गराएको हो ।

    त्यसैगरी  समृद्धि फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड , प्रोग्रेसिभ फाइनान्स लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड , जानकी फाइनान्स लिमिटेड , सेन्ट्रल फाइनान्स लिमिटेड , रिलायन्स फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका सीइओहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।

    राष्ट्र बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी राष्ट्र बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हुँदा सीइओलाहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।

     

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij