Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कांग्रेस महासमिति बैठक : आन्तरिक विवादको अनुमोदन !


  • बिहिबार, फाल्गुन १० २०८०

  • कांग्रेस महासमिति बैठक : आन्तरिक विवादको अनुमोदन !

    काठमाडौं – फागुन ७ वाट ललितपुरको गोदावरीमा आयोजना गरिएको कांग्रेस महासमिति बैठक विहिवार सम्म चल्यो । कांग्रेसको यो बैठक मूलत : नेकपा माओवादी सहितका अन्य साना दलसंग चुनावी गठवन्धन गर्ने कि नगर्ने भन्ने बहसले चर्चित भयो । महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदनमा गठवन्धन गर्न नहुँने तर्क गर्दै प्रस्ताव पेश गरे पछि महासमितिको तापमान मात्रै बढाएन माओवादी केन्द्र नराम्रोसंग झस्कियो । महामन्त्रीको प्रस्तावबाट गठवन्धन नगर्ने विषय हटाउन भगिरथ प्रयास गरेका सभापति शेरबहादुर देउवा बैठक अवधि भर तनावमा देखिए ।

    कहिले महामन्त्रीहरुसंग छलफल, कहिले वर्तमान तथा पूर्व पदाधिकारीसंग छलफल र कहिले आफुपक्षिय नेताहरुसंगको छलफलवाट पनि परिणाम ननिस्केपछी प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग पटक – पटक छलफल गर्न पुगे । । ‘वेटिङ प्रधानमन्त्री’ रहेका देउवालाई महामन्त्रीको प्रस्तावले अप्ठ्यारोमा पारेको प्रष्ट देखिन्थ्यो ।

    महामन्त्री थापाले गठवन्धनमा आफ्नो अडान नछाडे पछि यहि विषयले पार्टी भित्रको विवाद दुई खेमामा विभक्त देखियो । हुन त कांग्रेसमा दुई खेमा पहिला देखिनै विद्यमान छ । तर महामन्त्री थापाको नेतृत्वमा महासमितिमा देखिएको विभाजनले एउटा ध्रुवको नेता उनै हुन भन्ने प्रष्ट सन्देश प्रवाह भयो । संस्थापन इतर समूहको नेता डा. शेखर कोइराला महासमिति बैठकमा पुरै ओझेल परे ।

    महामन्त्री थापाको गठवन्धन नगर्ने अडानले कांग्रेसको आगामी सत्ता यात्रामा मात्रै प्रश्न उठाएन राष्ट्रिय सभाको अध्यक्षको दावी समेत कमजोर बन्न पुगेको छ । कांग्रेसले नेता कृष्ण प्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष प्रस्ताव गर्ने तयारी गरेको छ । केहि समय अघि सम्म सिटौला समूहमै रहेका थापा महाधिवेशनमा कोइराला समूहमा प्रवेश गरेर महामन्त्री बनेका हुन । अहिले थापा र सिटौला विच सम्बन्ध सुमधुर छैन ।

    कांग्रेसको महासमिति बैठकले पार्टीमा गम्भिर विवाद छ र संगठन दुईवटा गुटमा विभाजित छ भन्ने प्रष्ट देखायो । संस्थापनमा एकछत्र देउवाको नेतृत्व देखियो भने इतर पक्षमा महामन्त्री थापा र शेखर कोइरालाको मिश्रित नेतृत्व देखियो । यहि पार्टी भित्रको गुटको अनुमोदन गर्न बैठक बोलाईएको जस्तो देखिन पुग्यो । महासमिति बैठकमा देखिएको विभाजन र त्यसको अनुमोदनले लामो समय सम्म कांग्रेसलाई पिरोल्न सक्दछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij