Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल


  • शनिबार, मंसिर ३ २०७९

  • आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल

     

    निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपि

    ३ मंसिर २० – भलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाताहरूलाई हार्दिक आव्हान गर्दछु ।

     

    नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

     

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ । यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको

    छ । यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको छ ।

     

    आयोगले मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ ।

     

    नेपाल सरकारले आयोगको सिफारिशसमेतका आधारमा यही मंसिर ४ र ५ गते देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ । निजी तथा गैह्रसरकारी क्षेत्रमा आबद्ध जनशक्तिले पनि सहजतापूर्वक मतदानमा सहभागी हुन सकुन् भन्ने ध्येयले बिदाको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारमार्फत ती क्षेत्रलाई अनुरोध गरिसकिएको छ ।

     

    निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, मतपत्रको दुरूपयोग गर्ने, मतदानको अधिकारविना मतदान गर्ने, पटक पटक मतदान गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, मतदातासँग अर्काे कुनै अनाधिकृत व्यक्ति मतदान कक्षमा जाने तथा मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जो कोहीलाई कानुनबमोजिम कारवाही गरी मतदाताको स्वच्छता र स्वतन्त्रता कायम गर्न मतदान अधिकृत तथा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक एवं निर्वाचन प्रतिनिधि समेतलाई आवश्यक निर्देशन दिइएको

    छ ।

     

    निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ । निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ ।

    अन्त्यमा,

    निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०७९ मंसिर ४ गते आइतबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij