काठमाडौं– नेपालको भौगोलिक क्षेत्र मध्य सबै भन्दा पछि परेको क्षेत्र कर्णाली प्रदेश हो । संघिय संरचनामा प्रवेश गर्नु भन्दा पहिला पनि साविक कर्णाली नेपालको सबै भन्दा पिछडिएको र आर्थिक रुपमा कमजोर क्षेत्र मानिन्थ्यो । त्यहाँका जनताको जीवनस्तर औषत नेपालीको भन्दा निकै दयनिय छ । स्वास्थ्य, शिक्षा र पोषणका दृष्टिले कर्णालीका जनता सबै भन्दा पछि छन् ।
विकट भौगोलिक अवस्थीति, कृषि योग्य जमिनको चरम अभाव, उद्योग कलकारखाना नगन्य रहेको कर्णालीका जनता औषधीमा सिटामोल र खाद्यान्यमा राहतको चामलबाट समेत बञ्चित हुँदै आएको खबरहरु सञ्चार माध्यमहरुमा छाउने गर्दछ । बाटोघाटोको अवस्था दयनिय भएकाले त्यहाँ उत्पादन हुने स्याउ र जटिबुटिले समेत बजार पाउन मुस्किल छ ।
त्यहि विकट र अभाव झेलिरहेका कर्णालीका जनताले मुख्यमन्त्री भने अकुत र अस्वभाविक सम्पतिका मालिक पाएका छन् । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक गरेको सम्पति विवरण केलाउने हो भने जो कोही एक पटक झस्किन्छ ।
शाहीको सम्पति हुम्लामा मात्रै २१५ रोपनी जग्गा छ । हुम्लामै दुई वटा घर रहेको छ । बाँकेको खजुरामा २ विघा जमिन र नेपालगञ्जमा क्षेत्रफल नखुलाइएको जमिन समेत । काठमाडौंमा ५ रोपनी दश आना जमिन र क्षेत्रफल नखुलाइएको घर जग्गा समेत छ । काठमाडौंको चन्द्रागिरीमा रहेको जमिनको प्रचलित मुल्य मात्रै ५० करोड हाराहारी हुन आउँछ । बाँकेको क्षेत्रफल खुलाइएको जमिनको कम्तीमा पनि ५ देखी ७ करोड पर्छ । क्षेत्रफल नखुलाइएको बाँके र काठमाडौंको जमिन तथा घरको मुल्य यकिन छैन् । हुम्लाको दुईवटा घर र २१५ रोपनी जमिनको मुल्य समेत अनुमान गर्न सकिदैन ।
शाहीले आफुसंग भएको भनेका ५६ तोला सुनको मुल्य कम्तिमा ५० लाख हुन आउँछ भने एक करोड भन्दा बढित नगद नै रहेको देखाएका छन् । उनले पौने २ करोड जति ऋण देखाएका छन् ।
उनकी श्रीमति पूर्वकर्मचारी हुन भने हाल कर्णाली लोक सेवा आयोगकी सदस्य हुन । इन्जिनियर समेत रहेका मुख्यमन्त्री शाहीले आम्दानीको स्रोत व्यापार व्यवसाय भनेपनि कहाँ कस्तो व्यापार व्यवसाय हो भनेर खुलाएका छैनन् । उनको सम्पति विवरण हेर्दा अस्वभाविक देखिएको जानकारहरु बताउँछन् । हाइड्रो पावर, बैक तथा वित्तिय संस्थाहरुमा समेत उल्लेख्य शेयर लगानी देखिन्छ ।
शाहीले सम्पतिको आर्थिक मुल्यांकन समेत प्रस्तुत गरेका छन् । जुन अपत्यारिलो र काल्पनिक छन् । काठमाडौंको जग्गा आनाकै ५० लाख हाराहारी पर्ने जमिनलाई उनले अढाई लाख आनामा खरिद गरेको दावी गरेका छन् । नेपालगञ्जको जमिनको मुल्य पनि नगन्य राखेका छन् ।
शाही यस अघि पर्यटन मन्त्री समेत रहेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
