Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इपानको अध्यक्षमा आचार्य सर्वसम्मत


  • सोमबार, भाद्र १ २०७७

  • इपानको अध्यक्षमा आचार्य सर्वसम्मत

    काठमाडौँ – वरिष्ठ उद्यमी कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आइतबार अबेर साँझ सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको गरेको हो। बाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सहमति जुटेको हो ।

    बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष आचार्य निर्माणाधीन १ सय ५५ मेगावाटको धुन्साखोला (तेह्रथुम), ४८.८ मेगावाटको खिम्ति–२ (दोलखा), २० मेगावाटको लाङटाङखोला (रसुवा) र व्यवसायिक उत्पादनमा रहेको मोदी खोला–१ (पर्वत) हाइड्रो पावरसँग सम्वद्ध छन् ।

    यसअघि ९ सदस्यीय रहेको इपानको कार्यसमिति विधान संशोधन गरी १६ सदस्यीय बनाइएको छ । समितिका तीन उपाध्यक्षमा क्रमशः आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी चयन भए ।

    यस्तै महासचिवमा गोरे शेर्पा, सचिवमा भरत खत्री, बलराम खतिवडा र राम आचार्य तथा कोषाध्यक्षमा आनन्द चौधरी चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रकाश दुलाल, भरत खड्का, भरत लामिछाने र उत्तम ब्लोन तथा महिला सदस्यमा अविज्ञा मल्ल र कविता कँडेल सर्वसम्मत चयन भएको इपानले जनाएको छ ।

    बाँकी दुई सदस्य कार्यसमितिले पछि मनोनयन गर्नेछ । यस्तै इपानले पहिलोपटक संघीय संरचनाअनुसार सांगठनिक पुनर्संरचना गर्ने भएको छ । अब हरेक प्रदेशमा इपानको प्रदेश कमिटी गठन हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij