काठमाडौं – नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदै छन् । राष्ट्रपति बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ ।
पोखराको दृश्यावलोकन गर्न जान लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाले दुई झाँकी देखाउने तयारी गरेको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ ।
त्यसपछि सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । राष्ट्रपति आजै काठमाडौँ फर्किने छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
