काठमाडौ – नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलले पराजय पछि पार्टी सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन हुने विश्वास ब्यक्त गरेका छन । उनले विजयी सबैलाई बधाई दिँदै आफुलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन|
विजयी कमरेडहरूलाई बधाइ , सम्पूर्ण प्रतिनिधि/ मतदाताहरूमा हार्दिक बधाइ तथा धन्यवाद !
———————————-
नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन ( २०८२ मंसीर २७- पुस ३ ) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।
प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।
आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् – हार्दिक शुभकामना व्यक्त गर्दछु ।
– ईश्वर पोखरेल
( २०८२/९/३ )
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
