Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा


  • मंगलबार, साउन १३ २०८२

  • ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा

    काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा हुन लागिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले सोको जानकारी गराएको हो । काठमाडौँको भुकुटीमण्डममा एक्स्पो आगामी श्रावण २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ ।

    पत्रकार सम्मेलनमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ समितिका प्रमुख शिरीष कुमार मुरारकाले एक्स्पो आयोजना स्थलमा जलनिकासको राम्रो प्रबन्ध गरिएको र प्रदर्शनीस्थल अपांगतामैत्री समेत हुने गरी स्टलहरूको निर्माण गरिएको बताए । नाइमाले आयोजना गर्न लागेको पहिलो मोबिलिटी एक्स्पोमा नयाँ प्रविधियुक्त ३५ वटा सवारीसाधन सार्वजनिक गरिने कार्यक्रम पनि रहेको उनले जानकारी दिए । तीमध्ये १५ वटा दुईपाङ्ग्रे, १५ वटा चारपाङ्ग्रे र ५ वटा कमर्सियल सवारीसाधन हुनेछन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढि ब्राण्डहरुको सहभागीता रहने छ ।

    नाइमाले एक्स्पो लक्षित विशेष अनलाइन भिडियो प्रतियोगिता पनि सुरु गरेको छ। श्रावण २१ गतेसम्म अटो एक्स्पो सम्बन्धी भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख रुपैयाँ र श्रावण २१ देखि २५ भित्र अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नाइमाले जनाएको छ।

    पत्रकार सम्मेलनमा बोल्दै नाइमा अध्यक्ष रितु शिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्नेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गरिन् । प्रदर्शनीको पाँचौं दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने प्यानल डिस्कसनको कार्यक्रम पनि तय भएको उनले जानकारी दिइन् ।

    नाइमाकी अध्यक्ष वैद्यले अवोलकनकर्ताका लागि टिकट शुल्क २०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिइन् । उक्त शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको उनले बताइन् । सो अनुसार विद्यार्थीले १०० रुपैयाँ तिरेर मोबिलिटी एक्स्पो अवलोकन गर्न सक्नेछन् ।छुट पाउन विद्यार्थीले हाल आफू अध्ययनरत शैक्षिक संस्थाको परिचयपत्र देखाउनुपर्नेछ ।

    प्रदर्शनीको पहिलो दिन श्रावण २१ गते अनिल केशरी शाहले “मोबिलिटी हिजो, आज र भोलि” विषयमा ज्ञानमूलक सत्र सञ्चालन गर्नेछन् । अन्य सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा भारतको रोड ट्राफिक एजुकेशन इन्स्टिच्युट लगायत विभिन्न संस्थाका विज्ञहरूको उपस्थिति रहनेछ।

    एक्स्पोमा सहभागी हुनका लागि टिकट ‘खल्ती बाई आईएमई’ मार्फत किन्न सकिनेछ। प्रदर्शनीबाट संकलित टिकट आम्दानीको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी सम्बन्धी विषयमा छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न खर्च गरिने आयोजकले जनाएको छ ।

    नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यले एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा पार्किङ व्यवस्था गरिएको जानकारी दिइन् । उनले त्यहाँ २५० बढी कार पार्किङ गर्न सकिने उनले बताइन् । त्यस्तै, मोटरसाइकल/स्कुटरका लागि भृकुटीमण्डम भित्रै पार्किङ व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij