Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ: प्रचण्ड


  • शुक्रबार, फाल्गुन ९ २०८१

  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ: प्रचण्ड

    फागुन १०, पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताउनुभएको छ।

    शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताउनुभएको हो।

    भेलामा प्रचण्डले भन्नुभयो, ”संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।”

    भेलामा प्रचण्डले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती दिनुभयो।

    प्रचण्डले भन्नुभयो, “अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु- उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।”

    भेलामा अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताउनुभयो।

    उहाँले भन्नुभयो, “हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।”

    जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप हो: गुरूङ

    कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताउनुभयो।

    नेता गुरूङले भन्नुभयो, ”जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता अन्तत: सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।”

    “नीजि सम्पत्तिको उत्पत्तिपूर्व वर्गीय विभाजन थिएन। त्यो समाजमा जातीय विभेद थिएन” गुरूङले भन्नुभयो, “राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन्। समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ। यो बुझाइमा हामी स्पष्ट हुन जरूरी छ।”

    एमाले सामन्तवादको प्रतिनिधि

    भेलामा गुरूङले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन। एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ।”

    भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताउनुभयो।

    पूर्वसभामुख घर्तीले भन्नुभयो, ”उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्। आज जनयुद्धका उपलब्धी खोस्ने कुचेष्टा भइरहेको छ। त्यसका विरूद्ध निरन्तर संघर्ष जरूरी छ। यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ।”

    ”आज जनयुद्धका महानायक कमरेड प्रचण्डमाथि हमला भइरहेको छ” घर्तीले भन्नुभयो, “अध्यक्ष प्रचण्ड, तपाई हामी आदिवासी जनजातिहरूको अभिभावक हो। आन्दोलनको नेतृत्व हो। पहिचान र अधिकारको आन्दोलनमा हामी तपाईको रक्षकवच भएर उभिनेछौँ। प्रतिगामीहरू परास्त गर्नेछौँ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij