Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मेलम्ची भ्रष्टाचार : तत्कालीन सचिव ठाकुरसहित ४ जना दोषी ठहर


  • मंगलबार, भाद्र २५ २०८१

  • मेलम्ची भ्रष्टाचार : तत्कालीन सचिव ठाकुरसहित ४ जना दोषी ठहर

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप लागेकामध्ये १० जनालाई सफाइ दिएको हो ।

    यो मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् ।

    ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ । त्यस्तै देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउँदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी भएको निचोड सहित मुद्दा दायर गरेको थियो । कतिपय व्यक्तिहरुमाथि उनीहरु निर्णय प्रक्रियामा संलग्न भएको रकम गणना गरेर बिगो निकालेको थियो ।

    इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ । विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्नु भनी आदेश दिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् । उनीहरुमाथि ६ करोड ९७ लाख रुपैयाँ बिगो मागदाबी थियो । तत्कालिन सचिव भीमप्रसाद उपाध्यायविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो मागदावी थियो ।

    काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत एवं मेलम्चीको बोर्ड सदस्य रुद्र सिंह तामाङले सफाइ पाएका छन् ।
    बोर्डका अर्का सदस्य चन्द्रबहादुर थापाले पनि सफाइ पाए । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाएका छन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij