Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक


  • बिहिबार, चैत्र २२ २०८०

  • देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक

     

    काडमाडौं – चालु आर्थिक वर्ष (आव) २०८०- ८१ को सुरुवातीबाटै उच्च दरमा बढेको रेमिटेन्स र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचतमा उल्लेखनीय सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्ष भन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सकिने देखिएको छ।

    राष्ट्र बैंकको सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २५ करोडले बचतमा पुगेको छ ।

    गत फागुन मसान्तसम्म समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्ब रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको छ।

    त्यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३०.२० प्रतिशतले कमी आई ३ अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ६३ करोडले धनात्मक रहेको छ । २०८० फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १८खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०८०-८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात तथा १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

    आठ महिनामा कुल बजेट खर्च २.९ प्रतिशतले वृद्धि भई ८ खर्ब ०१ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ। राजश्व परिचालन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड भएको छ । यस अवधिमा विस्तृत मुद्रा प्रदाय ७.७ प्रतिशत र वार्षिक बिन्दुगत आधारमा १४ प्रतिशतले बढेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij