Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो” –संयोजक प्रचण्ड


  • आइतबार, कार्तिक ९ २०८२

  • अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो” –संयोजक प्रचण्ड

    गोरखा, कार्तिक ९।
    नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भयो। कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता तथा संयोजकका रूपमा उपस्थित हुनुभएको छ।

    कार्यक्रममा संयोजक प्रचण्डले जेन–जि आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिनुभयो।

    संयोजक प्रचण्डले भन्नुभयो,

    “जेन–जि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।”

    उहाँले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै थप्नुभयो,

    “केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।”

    चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै भन्नुभयो,

    “अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”

    त्यस्तै उहाँले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको बताउँदै भन्नुभयो,

    “हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।”

    जेन–जि पुस्तासँगको सम्बन्धबारे प्रचण्डले भन्नुभयो,

    “अब जेन–जि युवाहरूसँग हाम्रो छलफल हुँदै जाँदा उहाँहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै जानु भएको छ।”

    उहाँले पार्टीभित्रको एकतालाई सुदृढ बनाउने संकल्प व्यक्त गर्दै भन्नुभयो,

    “हाम्रो केन्द्रीय समितिले पार्टीभित्रको एकता विरोधी र नेतृत्व विरोधी प्रवृत्तिलाई एकताबद्ध भएर परास्त गरेको छ। विचार मिल्नेहरूसँग एकता गरिन्छ, तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढिन्छ।”

    कार्यक्रममा संयोजक प्रचण्डले सबै कार्यकर्तालाई सचेत रहन आह्वान गर्दै भन्नुभयो,

    “अहिले पनि प्रतिगामी खतरा कायम छ। तिनीहरू लोकतन्त्र नै खोस्न सकिन्छ कि भनेर लागेका छन्। त्यसैले त्यस्ता तत्वबाट सावधान रहनुपर्छ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij