काठमाडौं – नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको महाधिवेशन नजिकिदै गर्दा उक्त संगठनका नेता राजेश राईले सामाजिक सञ्जालमा एउटा अर्थपूर्ण स्टाटस पोष्ट गरेका छन । चौतारीको महाधिवेशनसंगको प्रशंग उल्लेख नगरी लेखिएको स्टाटस महाधिवेशन लक्षित हो भन्ने बुझ्न कठिन छैन ।
कम्युनिष्ट आन्दोलन प्रति आकषर्ण जाग्नुको कारण बयान गर्दै लेखिएको राईको स्टाटसमा उनले प्रगतिशिल साहित्य र संगितका प्रशंग उल्लेख गर्दै आफ्नो प्रेरणाको स्रोत बयान गरेका छन । कवि तिर्थ श्रेष्ठको रचना देखि राल्फाली सांगितिक आन्दोलनको चर्चा गरेका छन । उनले कम्पुनिष्ट घोषणा पत्र देखि मार्क्स- एंगेल्सको भनाई सम्म उल्लेख गरेका छन ।
राइको भनाईको खास चुरो भने एउटा हरफमा भेटिन्छ । उनले लेखेका छन –
म यो आन्दोलनमा लागेको कुनै राजा महाराजाहरुको दिव्य ज्ञान पढेर होइन । राजा विरेन्द्रको देश प्रेममा भावुक भएर पनि होइन । राजा ज्ञानेन्द्रको शासनको दिर्घायु बुझेर त झनै होइन । महेन्द्रवाला देशप्रेमले ओतप्रोत भएर पनि होइन ।
राजेशले संकेत गर्न खोजेको प्रशंग राजा ज्ञानेन्द्रको निरंकुश शासनकालको हुनु पर्छ । त्यतिवेला पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको विरुद्धमा महाराजले राष्ट्रिय पत्रकार महासंघ खोलेका थिए । उक्त कथित महासंघको अध्यक्ष थिए, प्राध्यापक पी खरेल । खरेल सरको मण्डले महासंघमा अहिले प्रेस चौतरी र प्रेस युनियनका मै हुँ भन्ने पत्रकारहरु केन्द्रीय कमिटिमा थिए ।
देशभरका पत्रकार प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा लडिरहेका वेला केहि पत्रकार राजाको छत्रछायाँमा आफ्नो रोटि सेकिरहेका थिए । आज तिनै मण्डलेका मानसपुत्रहरु स्वतन्त्रता सिपाहिहरु विरुद्ध मैदानमा देखा परे पछि राजेश राईले स्वतन्त्रता सेनानीहरुको प्रतिनिधित्व गर्दै उक्त स्टाटस लेखेको हुन सक्दछ ।
राईले लेखेका छन :
एक आत्म वयान :
मेरा लागि सबैभन्दा सकस र यातना हो, ‘आफ्नो बारेमा आफैले केही भन्नु ।’ आफ्नो बारेमा आफैले केही भन्दा वा लेख्दा यस्तो लागिरहन्छ, ‘मानौं मैले मृत्युदण्ड भोगीरहेको छु ।’
हो, आज त्यही सकस र यातना सहनु पर्ने बाध्यता आइलाग्यो । अर्थात् आफैले आफ्नै बिषयमा केही भन्नु पर्ने भयो । प्रिय पोखरेली कवि तीर्थ श्रेष्ठको एउटा प्रिय कविता छ, ‘हिउँमा लेखिएका नामहरु’ ।
कविता भन्छ :
हामीले
लेखेर आएका छौँ हिउँमा आ- आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
एकछिनपछि घाम लाग्यो भने पनि
बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू ।
प्रिय कवि तीर्थ श्रेष्ठको यो कवितालाई अनेक प्रसङ्गमा जोड्न सकिन्छ । मलाई लाग्छ, हामीले प्राप्त गर्ने पदहरु तीर्थ दाइले भने जस्तै ‘हिउँमा लेखिएका नामहरु’ हुन् । हिउँ थपिदा पनि मेटिन्छ, घाम लाग्यो भने पनि बहन्छ । अर्थात् यी असाध्यै सामान्य बिषय हुन् । अजम्बरी त हाम्रो ज्ञान हो । विचार हो । निष्ठा र आस्था हो । यो त शिलापत्रमा खोपिएका अक्षर जस्तै अथवा दर्शने ढुङ्गामा खोपिएका नाम जस्तै अजम्बरी हुन्छन् । बाँचिरहन्छन् ।
‘हिउँका नाम’ प्राप्तीमा लागेका साथीले हाम्रो वर्गप्रतिको निष्ठामा प्रश्न गरेछन् । हामीलाई/मलाई बुझ्ने एक साथीले चितवनमा उद्येलित भएर भन्नुभयो, ‘कमरेड, म तपाईलाई बुझ्छु । तर एक जना मित्रले तपाई राजेश होइन ‘राई’/ ‘भोटे’ खै के …वादी हो भनेर प्रचार गरीरहेका छन् ।’
मैले हाँसेर भने, ‘यो तहको तुच्छतालाई छोडीदिनुहोस् ।’ तर उनले मेरो कुरा मान्न तयार भएनन् । भने, ‘तपाई जस्ता साथीलाई यस्तो भन्दा हाम्रो पनि छाती पोल्छ यार छाती ।’
यहाँनिर म यति भन्छु :
म यो आन्दोलनमा लागेको कुनै राजा महाराजाहरुको दिव्य ज्ञान पढेर होइन । राजा विरेन्द्रको देश प्रेममा भावुक भएर पनि होइन । राजा ज्ञानेन्द्रको शासनको दिर्घायु बुझेर त झनै होइन । महेन्द्रवाला देशप्रेमले ओतप्रोत भएर पनि होइन ।
दुनियाँलाई पदप्रदर्शन गरीरहने आजभन्दा १७७ वर्ष अघि लेखिएका सर्वकालिक कम्युनिष्ट घोषणापत्रको ‘विचारको दिर्घायु’ बुझेर अभियानमा लागेका हौं । पेरिस कम्युनको गाथा र चिनियाँ क्रान्तिका कथाहरुबाट उद्येलित भएर आन्दोलनमा लागेका हौं ।
निकोलाई आस्त्रोभस्कीका ‘अग्निदीक्षा’ का पावेल कर्चागिनहरु बन्ने सपना बोकेर आएका हौं । प्रेमको रंगीन दुनियाँबाट संघर्षको मैदान अर्थात् बोल्सेभिक बनेका पावेलहरुको कथाहरुले यो बाटोमा ल्याएको हो । याङ मो को ‘द सङ अफ युथ’ अर्थात् ‘युवाहरुको गीत’ सुनेर/पढेर यहाँ आइपुगेका हौं । लिन ताओ चिङको गाथाबाट निर्मित एक भव्य विम्ब हाम्रो रोजाई हो । माक्सिम गोर्कीका ‘आमा’ अर्थात् पेलागुयेया भ्लासोभा र पाभेलहरु हाम्रो आदर्श हुन् ।
खोकु–छिन्ताङ, सुखानी र पिस्करहरुको कथा/गाथाले उद्येलित भएर/दुखेर यहाँसम्म आएका हौं । मार्क्स, एंगेल्स र लेनिनहरु ‘सुनसरीमा जन्मिएका हुन् की पाल्पामा ?’ भनेर प्रश्न सोध्नेहरुले हाम्रो निष्ठा माथि प्रश्न गर्दा साँच्चिकै चितवनमा साथीले भने जस्तो ‘छाती पोल्दो रहेछ, छाती ।’
राल्फाली रामेश, मञ्जुलहरुको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ हाम्रो नशामा दौडिन्छ । विजय सुब्बा, भूमिका सुब्बाहरुको ‘कही बस्तीहरु’हाम्रो ओठमा छ ।
मार्क्स- एंगेल्स भन्छन्, ‘मानव जातिको इतिहास वर्ग संघर्षको इतिहास हो ।’
हो, हाम्रो बाटो र उज्यालो यही हो । मेरा साथीहरुलाई भन्छु, ‘वर्गप्रति हाम्रो सगरमाथा जस्तो अग्लो निष्ठामाथिको तुच्छ आरोप कुनै खण्डन गर्न लायक छैनन् । होइनन् ।’ की हामीले जन्मको आधारमा जिवनभर परिक्षा दिइरहनु पर्ने हो र ?
साथी, मविवि शाहको गीत होइन हामी युजिन पोत्तरका गीत गाएर हुर्किएका हौं । हाम्रो स्कुल मविवि शाह होइनन् युजिन पोत्तरहरु हुन् । फ्रान्सका युजिन पोत्तरको गीतले भन्छ :
उठ, जाग, हे ! भोकानाङ्गा, जाग संसारका दुःखी
सुन्दर संसार रचना गर्न, न्यायको लागि गर्जी
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुने छ !
तस्बिर : श्रीधर पौडेल
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
