काठमाडौं – गत महिना चितवनको मिलनचोक स्थित कल्भर्टमा दुई वटा बोरामा महिला र पुरूषको शव फेला परेको थियो । पहिचान नखुलेको शव कस्को हो र त्यहाँ लास कस्ले ल्याएर फाल्यो भन्ने अनुशन्धान गर्न प्रहरीलाई सजिलो थिएन । कतैबाट कुनै भरपर्दो सुचना प्राप्त नभए पछि प्रहरीले शवको आधारमा स्केच समेत सार्वजनिक गरेको थियो । तर एक महिना भन्दा लामो समय पछिको अनुशन्धानले प्रहरीले सफलता हात पारेको छ ।
प्रहरीका अनुसार भरतपुर म.न.पा.- १२ मिलन चोक स्थित सडक कल्भर्ट मुनी शङ्कास्पद रूपमा रहेको २ वटा जुटको बोरामा अन्दाजी २४/२५ बर्ष उमेरको जस्तो देखिने पुरूष व्यक्ति र अन्दाजी ३०/३१ बर्ष उमेरको जस्तो देखिने महिलाको शव, मुखमा टेप लगाएको, घाँटीमा सल जस्तो रातो कपडाले कसेको, दुवै शवको दुवै हात र खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई बोरा भित्र राखेको अवस्थामा फेला परेको लाशको अनुसन्धानको सिलसिलामा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय चितवन समेतको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन, प्राविधिक विश्लेषण, सूचना संकलन समेतको विश्लेषण गरी सफलतापूर्वक अनुसन्धान गरी तथ्य स्थापित गर्न सफल भएको छ ।
मृतकहरु नेपालमा तरकारी, फलफुल व्यापारको लागि पटक पटक आउने जाने गरेको र निजहरु अन्तिम पटक २०८० सालको दशैं पश्चात नेपाल आई चितवनको मिलनचोक स्थित मृत्तक पुरुषको काका नाता पर्नेको कोठा नजिकै कोठा लिई बस्दै आई रहेको पाइएको प्रहरी अनुशन्धानले देखाएको छ।
मृतक पुरुष (ऋषभ कुमार कुशवाहा) र मृतक महिला (अस्मिता भन्ने सन्जु देवी) को बीचमा रहेको सम्बन्धका कारण अस्मिता भन्ने सन्जु देवीको श्रीमान अखिलेश भगतले शंका गरी सो विषयलाई लिएर मृतकहरुसँग झै- झगडा गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धानको क्रममा मिति २०८०/०८/०२ गते ऋषभ कुमार कुशवाहा र अस्मिता भन्ने सन्जु देवीलाई अखिलेश भगतले निजहरु बस्ने गरेको भाडाको कोठामानै कर्तव्य गरी दुवै लाशलाई २ वटा जुटको बोरामा बन्द (प्याक) गरी मिति २०८०/०८/३ गते ००:४५ बजेको समयमा र ०१:१२ बजेको समयमा अखिलेश भगतले उक्त लाशहरुलाई २ पटक गरी साईकलमा राखि लाश फेला परेको कलभर्ट तर्फ लगेको CCTV Footage मा देखिएको जनाएको छ । उनीहरू सबै भारतीय नागरिक हुन ।
घटना लगत्तै मिति २०८०/०८/१६ गते निज अखिलेश भगत कोहि कसैलाई जानकारी नगराई भारत तर्फ भागि गएकोले भारतिय प्रहरीसँग समन्वय गरि खोजतलास गर्दा निजउपर भारतको प्रहरी थाना सुगौली बिहारमा अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धि उजुरी दर्ता भई मिति २०८०/०९/१६ गते अखिलेश भगतलाई भारतीय प्रहरीले पक्राउ गरि अनुसन्धानका लागी हाल भारतको केन्द्रीय कारागृहमा मोतिहारीमा राखीएको प्रहरी अनुशन्धानले खुलेको छ । नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा निजलाई अनुसन्धान तथा सोधपुछ गर्दा निजले नेपालको चितवनमा भतिजा नाता पर्ने ऋषभ कुमार कुशवाहा र आफ्नो श्रीमती अस्मिता भन्ने सन्जु देवीलाई हत्या गरी आएको भन्ने स्वीकार गरेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
