काठमाडौं– हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीको आइपीओ सबै विकेको छ । कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन हिजो पुस १ गते भएपनि कम्पनीको आइपीओ सबै नविकेको कारण समय थप गरेको थियो तर, समय थप गरेकै दिन सबै आइपीओ विक्री भएको छ । त्यसकारण आइपीओ आजसम्म मात्रै भर्न पाइनेछ ।
कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर निष्काशनमा ल्याएको हो। सिडिएसका अनुसार अर्थात पुस १ गते साँझ ५ः०८ बजेसम्म १४ लाख ६० हजार ११७ जना आवेदकले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ बराबरको २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ०.११ गुणाले बढी हो।
सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता शेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड पनि गरिसकेको छ। कम्पनीले अब भने सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएकाे हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
