काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो। सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए।
आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ। लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो। १० कित्ताका दरले आईपीओ बाँडफाँट हुँदा २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन्। १० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो। बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिईइएको हो।
यो सँगै लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झण्डै २४ लाखको हात रित्तो भएको छ। लघुवित्तले चैत २५ गते शुक्रबारदेखि चैत ३० गते बुधबारसम्म सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
