काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भइरहेको बताए ।
सोमबार रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका घिसिङले भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो ।’
वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले स्पष्ट पारे । घिसिङले भने, ‘सरकारले प्रोत्साहन स्वरूप २४ लाख दिएको हो, त्यो बाहेक मैले करबाहेक ६ लाख भत्ता बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’
आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ ।
साथै प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उनले बताए । विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु’ घिसिङले भने ।
विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको उनले बताए । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्, हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ’, उनले भने ।छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको उनले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
