Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

“बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, केही चीज गम्भीर लागेको छ,यो सामान्य छैन” : प्रधानमन्त्री


  • सोमबार, पुष १६ २०८०

  • “बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, केही चीज गम्भीर लागेको छ,यो सामान्य छैन” : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

    दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उहाँले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताउनुभयो। “केही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्,” प्रधानमन्त्रीले भन्नुभयो , “गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।”

    प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताउनुभयो। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उहाँले स्पष्ट गर्नुभयो।

    “त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन,” उहाँले भन्नुभयो।

    आफुले उक्त घटनालाई गम्भिर रूपमा लिएर उच्चस्तरीय छानविन आयोग बनाइएको बताउनुभयो। मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो ? उहाँले प्रश्न गर्नुभयो। प्रमुख तीन दलका प्रमुख नेताको टाउको काटे २० लाख दिन्छु भन्ने के संस्कार हो ? उहाँको प्रश्न थियो।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताउनुभयो। जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उहाँको भनाइ थियो।

    विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उहाँले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताउनुभयो। त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उहाँको भनाइ थियो। ‘‘राष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनुपर्दछ’’ प्रधानमन्त्रीले भन्नुभयो।

    उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो व्यवस्था अहिलेसम्म मानवजातिले विकास गर्न सकेकै छैन । यो कुरालाई जनतासमक्ष लानुपर्थ्यो त्यो हामीले सकेनौं। लोकतान्त्रिक गणतन्त्रमार्फत शान्ति, विकास र समृद्धि दिन हामी सबै समकालिन नेताहरू लाग्नैपर्छ। मैले आजको यो कार्यक्रमलाई एउटा नयाँ एउटा प्रतिबद्धता, संकल्प लिने दिनको रूपमा लिन जरुरी ठानेको छु।”

    अहिले पनि वीपिले भनेको जस्तै राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो नेपाली राजनीतिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रयासमा लागेको उहाँले बताउनुभयो । त्यसको परिणमस्वरुप ‘विग सिक्स’ मा सबै ठूला दलको प्रतिनिधित्व रहने वातावरण बनेको प्रधानमन्त्रीको भनाइ छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij