काठमाडौँ, ८ मंसिर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताउनुभएको छ । “नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना” विषयक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको पनि बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले दूरसञ्चार क्षेत्रको विकासका लागि सरकारले नीति तथा कार्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पनि उल्लेख गर्नुभयो । “दूरसञ्चार क्षेत्रको विकास डिजिटल नेपालको मेरुदण्ड हो । यसर्थ, यस क्षेत्रको विकासका लागि समुचित रणनीति, यथेष्ट पूर्वाधार विकास एवम् आवश्यक जनशक्तिको विकासको लागि लगानी आजको प्राथमिकता हो । यही प्राथमिकतालाई बुझेर नेपाल सरकारले आजका नीति तथा कार्यक्रमहरूमा, योजनाहरूमा दूरसञ्चार तथा अन्य प्राविधिक क्षेत्रको विकासमा विशेष जोड दिँदै आएको छ”, उहाँले भन्नुभयो ।
आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले नेपालको कठिन एवम् दुर्गम भू-वनोटको अवस्थितिमा अन्य पूर्वाधारहरूको तुलनामा दूरसञ्चार बढि महत्वपूर्ण देखिने बताउनुभयो । उहाँले दूरसञ्चार क्षेत्रमा द्रुतगतिले भइरहेको आधुनिक प्रविधिको विकास तथा यसको संरचनामा भइरहेको गतिशील परिवर्तनले यस क्षेत्रमा नयाँ अवसरहरू देखापर्दै आएका पनि उल्लेख गर्नुभयो ।
दूरसञ्चार क्षेत्रको विकासका बारेमा अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासलाई समेत अध्ययन गरी नेपालको परिप्रेक्ष्यमा यसको विस्तार र उपयोगलाई समग्र सामाजिक एवम् आर्थिक विकाससँगै जोडेर हेर्नुपर्ने बेला आएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
उहाँले भन्नुभयो, “एक्काईसौं शताब्दीको गतिशील परिदृश्यलाई नियाल्दा, राष्ट्रहरूको शक्ति र सामर्थ्यलाई आकार दिन दूरसञ्चारको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । विविध संस्कृति र भूगोलले भरिपूर्ण नेपालको सन्दर्भमा दूरसञ्चारको विकास एउटा आमूल परिवर्तन सावित भएको छ । यसको विकासले नेपाली जनताको विकास प्रतिको उत्कट र तीव्र चाहनालाई समेत प्रतिबिम्बित गर्दछ ।”
उपप्रधानमन्त्री खड्काले देशको सामाजिक तथा आर्थिक विकासमा सघाउ पुर्याउन निजी क्षेत्र समेतको सहभागितामा देशभरि उचित मूल्यमा भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ गराउन अनुकूल वतावरणको सृजना गर्ने उद्देश्यले नेपाल सरकारले दूरसञ्चार सेवाको विकास र विस्तारमा विशेष जोड दिँदै आएको बताउनुभएको छ । त्यसका लागि दूरसञ्चार सेवामा सबैको पहुँच, सेवा प्रदान गर्ने दायित्व, व्यवसायीक सेवाको विकास, दूरसञ्चार क्षेत्रको उदारिकरण, खुल्ला अनुमति पत्र प्रणाली, निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन, सूचना समाजमा प्रवेश एवम् नेपाल दूरसञ्चार प्राधिकरणको व्यवसायीकरण लगायतका रणनीतिहरू नेपाल सरकारले उपयोग गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
नेपालवमा दूरसञ्चार पूर्वाधारको उल्लेखनीय विस्तार गरिएको उपप्रधानमन्त्री खड्काले बताउनुभयो ।
“हिमालयका अग्ला चुचुराहरूदेखि तराईका शान्त मैदानी भूभागसम्म दूरसञ्चार सञ्जालको पहुँचले डिजिटल धरातल बनेको छ जसले नेपाली जनतालाई एकआपसमा जोडेको छ । मोबाइल टेक्नोलोजीको आगमन वास्तवमा एक गेम चेन्जर विषय भएको छ । यो प्रविधिले अनेक बाधाहरू पन्छाउँदै हाम्रो सुन्दर देशको सबैभन्दा सुदूर कुनामा पनि कनेक्टिभिटीलाई बढावा दिएको छ। यो नै आजको यथार्थ हो”, उहाँले भन्नुभयो ।
नेपालमा दूरसञ्चार विकासको फाइदा विद्यार्थीमा पुगेको उपप्रधानमन्त्री खड्काको भनाइ थियो । यसले आर्थिक वृद्धि, सामाजिक विकास र समग्र प्रगतिका लागि नयाँ बाटो खोलेको पनि बताउनुभयो । “शिक्षाको क्षेत्रमा दूरसञ्चारले शहरी र ग्रामीण विद्यार्थीहरूबीचको खाडललाई कम गर्दै भौगोलिक अवरोधहरू हटाई विश्वस्तरीय शिक्षामा पहुँच प्रदान गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘टेलिमेडिसिनले स्वास्थ्य सेवामा क्रान्ति ल्याउनेछ र भौगोलिक रूपमा अलग्गिएकाहरूलाई गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्ने अवस्था निर्माण भइरहेको छ । डिजिटल अर्थ व्यवस्था फस्टाउँदै छ, उद्यमीहरू र साना व्यवसायहरूलाई विश्वव्यापीस्तरमा समेत फस्टाउन सहयोग गर्नेछ, भन्ने हाम्रो विश्वास रहेको छ।”
उपप्रधानमन्त्री खड्काले दूरसञ्चारले अवसरहरूसँगै चुनौतीहरू पनि ल्याएको बताउनुभयो । उहाँले दूरसञ्चार सेवाको अवसरबाट कोही नागरिक पनि वञ्चित नहुनुपर्नेमा सरकार सचेत रहेको जानकारी दिनुभयो । दूरसञ्चारको विकासले नेपाली जनताको जीवनमा सकरात्मक प्रभाव पार्नेमा नीहित हुनुपर्ने बताउनुभयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
