काठमाडौं – पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । आज संसदीय छानविन विशेष समितिको बैठकमा बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनको भनाई छ।
शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । सोही दिन बजेट प्रकरणबारे छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
