Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाल राजस्व छलीमा पनि संलग्न


  • मंगलबार, पुष २० २०७८

  • ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाल राजस्व छलीमा पनि संलग्न

     

    काठमाडौं–  ललिता निवास  प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल विरुद्ध राजस्व छली मुद्दा पनि दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मंगलबार मुद्दा दायर गरेको हो ।

    राजस्व अनुसन्धान विभागले ढकालसहित पाँच जनाविरुद्ध १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो ।उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ ।

    शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, र सान्टु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनल कम्पनीले मूल्य अभिवृद्धि कर, आयकर र लाभांश छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।

    विभागले शोभाकान्त ढकालसहित उक्त कम्पनीको सबै सञ्चालक र आनसान इन्टरनेसनल प्रालिको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध पनि राजस्व छलीको मुद्दा दायर गरेको विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

    आनसान इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरणहरु तथा आय विवरण तयार गरी कारोबार नै नभएको वा कारोबार शून्य देखाई आयकर र मूल्य अभिवृद्धि कर छलेको विभागको दावी छ ।
    आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले आरोपपत्रमा उल्लेख गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij