काठमाडौं – नेकपा माओवादी केन्द्रले निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।
अध्यक्ष प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।
उनीहरुले दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको थियो ।
माओवादी केन्द्रको चैत १ र २ गतेको केन्द्रीय समितिको निर्णयले प्रत्यायोजित गरेको अधिकार अनुसार अध्यक्ष प्रचण्डले मंगलबार उनीहरुले दल त्याग गरेको ठहर गरी साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेका हुन् ।
‘दल त्यागको सूचना नेपाल कम्युनिस्ट पार्टी (माओवदी केन्द्र) प्रतिनिधिसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्नेसमेत निर्णय गरियो’ अध्यक्ष प्रचण्डले जारी गरेको सूचनामा भनिएको छ ।
एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
