Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकीमा नेपाली ड्राइभरमाथि हातपात गर्ने युवती पक्राउ


  • शुक्रबार, फाल्गुन २८ २०७७

  • अमेरिकीमा नेपाली  ड्राइभरमाथि हातपात गर्ने युवती पक्राउ

    काठमाडौं – अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन् ।

    प्रहरीका अनुसार उबरका चालक खड्काले गत आइतबार ट्याक्सीमा चढ्ने क्रममा महिलालाई मास्क लगाउन आग्रह गरेका थिए । यो दुर्व्यवहारबारे सार्वजनिक भएको भिडियोमा महिलाले मास्क लगाउन आग्रह गरेको भन्दै खड्काको मुखमा आएर पटकपटक खोकेकी थिइन् । साथै उनले चालक खड्काको मोबाइल खोस्ने प्रयाससमेत गरेकी थिइन् र उनले लगाएको मास्क खोलिदिएकी थिइन् । चालक खड्काका अनुसार उबरको नियमअनुसार ट्याक्सी चढ्ने सबैले मास्क अनिवार्यरुपमा लगाउनुपर्छ । आइतबार तीन जना महिला ट्याक्सीमा चढेका थिए । जसमध्ये अरु दुईजनाले मास्क लगाएका थिए तर एक महिलाले भने मास्क लगाएकी थिइनन् । खड्काले नियमअनुसार मास्क लगाउन सुझाए । उनले मास्क आफूसँग नभएको बताएपछि उनले मास्क किन्न ट्याक्सी ग्यास स्टेसन (पेट्रोल पम्प) तर्फ मोडे । ग्यास स्टेसन नपुग्दै उनीहरुले खड्कामाथि दुर्व्यवहार गरे ।
    प्रहरीका अनुसार चालक खड्काले मास्क नलगाई ट्याक्सीमा राख्न नसक्ने बताएसँगै उनीहरुले हिँड्ने बेलामा खड्काको आँखामा पोल्ने खालको रसायन पनि छर्किएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले बताएको छ । खड्काले यस विषयमा सन्फ्रान्सिस्को प्रहरीमा उजुरी दिएका थिए । उनले आफू एसियाली मूलको भएकै कारण महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएका थिए । उनले आफूले उनीहरुलाई केही नराम्रो नभनेको भए पनि उनीहरुले दुर्व्यवहार गरेको उल्लेख गरे । उनले आफू नराम्रो भन्ने र गाली गलौज गर्ने संस्कारको मान्छे नभएको स्पष्ट पारेका थिए । खड्का आठ वर्षअघि अमेरिका गएका थिए ।

    बिहीबार उबरले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्व्यवहारमा संलग्न तीनैजनालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उबरले कुनै पनि किसिमको रंगभेदी र कुनै पनि समुदायमाथि घृणा फैलाउने किसिमको कार्यको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij