काठमाडौ – राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको भगिरथी भट्ट हत्या प्रकरणको स्थलगत अनुगमन सुरु गरिएको जनाएको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ती जारी गरी आयोगको प्रदेश कार्यालयबाट टोली प्रस्थान गरेको जनाएका छन । आयोगले घटनाको निष्पक्ष छानविन गर्न र दोषीलाई कारवाही गर्न आयोगले माग गरेको छ ।
प्रेस–विज्ञप्ति
२५ माघ, २०७७
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ घर भई सनातन धर्म मा. वि. खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगको प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्पm प्रस्थान गरेको छ ।
आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा विभत्स हत्या गरी निजलाई फालिएको बुझिएको छ ।
बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ ।
मानव अधिकारको विश्वव्यापी घोषणपत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६, बाल अधिकारसम्बन्धी महासन्धि १९८९ तथा नेपालको संविधान एवम् प्रचलित अन्य कानुनले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, सुरक्षित रहन पाउने तथा न्याय प्राप्तिको अधिकारको प्रत्याभूति गरेको छ ।
अतः उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
……………………..
डा. टीकाराम पोखरेल
प्रवक्ता
(सहसचिव)
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
