काठमाडौं – काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक प्रा. डा. भोला थापा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वको सर्च कमिटीले काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा तीन व्यक्तिको नाम सिफारिस गरेको थियो ।
सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा छन्। सर्च कमिटीले सार्वजनिक रुपमा आवेदन माग्दा ४० जना बढीले आवेदन दिएका थिए।
को हुन् नवनियुक्त उपकुलपति थापा?
नव नियुक्त उपकुलपति थापा काठमाडौँ विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।
उनले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका थिए। यसअघि भारतको पिलानीस्थित बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मास्टर्स र पञ्जाव इन्जिनियरिङ कलेजबाट बीई गरेका थिए। सन् १९९४ बाट उनले काठमाडौ विश्वविद्यालयमा सेवा सुरु गरेका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
