Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ पुग्यो


  • आइतबार, साउन ११ २०७७

  • विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ पुग्यो

    लन्डन – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये  २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत  भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।  अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

    संघका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

    यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।

    विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार 

    यो सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा  विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।

    यद्यपी, साउन ८  गते बिहिबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

    विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी  

    यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ ।

    विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij