पाल्पा – तानसेन नगरपालिका–११, बन्दीपोखराको सम्मोबारीमा हिजो गएको पहिरोमा गाडी पुरिएर मृत्यु हुनेहरुको खनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोले बगाएर मृत्यु हुनेहरु पाल्पाको रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।
सडक माथिबाट पहिरो खसेर सवारीसाधन बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको थियो ।
पहिरो झण्डै दुई सय मिटर तल खसेको छ । झण्डै ७० मिटर लामो पहिरोमा रोकिराखेको ट्रक, ठूलो पानी ट्याङकर, एउटा जीप र एउटा कार पुरिएका थिए । लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको हो । सामानले भरिएको ट्रक भीरमै अड्किएको छ । एउटा ठूलो पानी ट्याङ्कर ५ सय मिटर तल पुगेको छ । एउटा जीप भने सडक छेउमा अड्किएको छ । उक्त सडक अहिले एकतर्फ रुपमा संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
