Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदर्शनकारी माथी वल प्रयोग नगर्न कांग्रेसको चेतावनी


  • शनिबार, जेष्ठ ३१ २०७७

  • प्रदर्शनकारी माथी वल प्रयोग नगर्न कांग्रेसको चेतावनी

    काठमाडौ – नेपाली कांग्रेसले सरकारलाई प्रदर्शनमा उत्रिएका युवाका दमन नगर्ने र उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेको छ । शनिवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै कोरोन विरुद्धको क्षमता बढाउन सरकारसंग आग्रह गरेका छन । कांग्रेसले संसदबाट नक्सा पास भई संविधान संशोधन पछि कुटनितिक पहललाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

    जेठ ३१, २०७७

    युवा प्रदर्सनलाई दमन होइन सम्बोधन गर । कोरोना विरुद्ध क्षमता बढाउ ।
    नक्सा पारित पछि कुटनैतिक पहल तीब्र बनाउ ।

    नक्सा : राष्ट्रियताको प्रश्नमा राष्ट्रिय एक्यवद्धता
    १, लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको भू—भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची —३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट पारित हुन लाग्दैछ । नक्सा पारित हुनुसंगै भूमी फिर्ताको हाम्रो राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुनेछ । राष्ट्रियताको प्रश्नमा यो राष्ट्रिय एक्यवद्धता महत्वपूर्ण छ । नक्सा पारित पछि ती भू—भागमा नेपालको निर्वाध हक स्थापित गर्न उच्च स्तरीय कुटनैतिक पहलका लागि नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ ।

    दमन होइन युवा भावना सम्बोधन गर
    २, देशका विभिन्न ठाउँमा केहि दिन यता भइरहेका प्रदर्सनलाई कोरोना विरुद्धको संघर्षमा केपि ओलि नेतृत्वको सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोशका रूपमा नेपाली कांग्रेसले लिएको छ ।
    ३, प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए न त कोरोनाको संक्रमण यो रूपमा विस्तारित हुने थियो न त यसरी जनआक्रोश बढ्ने थियोे । सरकारको आग्रह स्वीकारेर जनताले लक डाउनको पालना गर्दै आएकै हो । तर कोरोना विरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसकेर परिस्थिति जटिल बन्दै गएपछि नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वभाविक हो । अतः प्रदर्शनमा अभिब्यक्त जनभावनालाई सम्बोधन गर्न माग गर्दै कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ ।
    ४, युवाहरुको प्रदर्शनमा तिनै मुद्दा अघि सारिएका छन् जुन बिषयहरु लगातार ४ महिना देखि प्रतिपक्षले निरन्तर मौखिक देखि लिखित रूपमा उठाउंदै आएको छ र अन्य दल एवं संचार माध्यमहरुले निरन्तर दबाब दिंदै आएका छन् । अतः पिसिआर परिक्षण व्यापक गर्न, स्वास्थ सामग्री पर्याप्त ब्यवस्था गर्न, क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाउन, बिदेशमा अप्ठ्यारोमा रहेका नेपालीहरुको यथासिध्र उद्वार गर्न नेपाली कांग्रेस फेरि पनि सरकार समक्ष युद्धस्तरमा कार्य गर्न माग गर्दछ ।

    असार २ गतेको स्वदेश र विदेशको कार्यक्रम बारे
    ५, नेपाली कांग्रेस केन्द्रीय समितिको जेठ २६ गतेको बैठकले निर्णय गरे अनुरुप असार २ गते केन्द्र, ७ प्रदेश, ७७ जिल्ला र बिदेश स्थित दूतावास मार्फत पनि सरकारलाई एकसाथ बिशेष ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको सर्वविदितै छ । सो कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न गरेर कोरोना विरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिन नेपाली कांग्रेस सबैमा हार्दिक अपील गर्दछ

    जय नेपाल !
    विश्वप्रकाश शर्मा
    प्रवक्ता एवं प्रमुख
    सूचना, संचार तथा प्रचार विभाग

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij