Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवैध गतिविधिमा संलग्न एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै


  • बुधबार, पुष २३ २०७६

  • अवैध गतिविधिमा संलग्न एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै

    काठमाडौं –  पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्काशन गरिँदै छ । अध्यागमन विभागका अनुसार आज साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो ।

    नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

    त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन् ।

    ‘उनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै मङ्गलबार नै सकिएको छ, आज साँझ उनीहरुलाई फिर्ता पठाइन्छ’, विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले भने । उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ ।
    विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा रद्द गरेको छ । उनीहरुलाई आज ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ । आज साँझ चीनबाटै आउने दुई विमानमार्फत फिर्ता पठाउन लागिएको विभागले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij