काठमाडौं – शुक्रबारदेखि मुग्लिन नारायणघाट सडकखण्ड दुई हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।
सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।
नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ।
त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ।
मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ।
उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ। आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने बताएको छ।
एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
