काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ (होपोन) को सातौं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुने भएको छ ।
अध्यक्ष रामजी घिमिरेको नेतृत्वमा अधिवेशनमा भाग नलिने असन्तुष्ट पक्षको अडानका कारण अधिवेशन अनिश्चित बनेको थियो । तर, पार्टीको समय समन्वयमा अधिवेशन तय भएको हो ।
दोस्रो पटक अध्यक्ष भएका रामजी घिमिरेले संघमा दुवै कार्यकाल मनपरी गरेको र जथाभावी रुपमा सदस्य थप गरेको तथा सगठन झोलामा राखि तानाशाही बनेको भन्दै कार्य समिति सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।
काठमाडौंमा वितरण गरिएको अनियमित सदस्यका विषयमा छानबिन गर्ने सहमति भएको छ । हुँदै नभएका स्वास्थ्य संस्थामा संगठन बनाइ १५० फर्जी प्रतिनिधि बनाएको आरोप अध्यक्ष घिमिरेमाथि छ ।
संघका दुवै पक्ष र ट्रेड युनियन कांग्रेसका महासचिवलगायतको पहलमा विवाद समाधान गरिएको हो । अधिवेशनका लागि देशभरबाट ६ सय ५० प्रतिनिधि काठमाडौंमा उपस्थित हुनेछन् ।
संघमा अहिले १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । उनीहरुका तर्फबाट प्रतिनिधित्व गर्दै ६५० प्रतिनिधि राजधानी आउने आयोजकले जनाएको छ ।
संघको अध्यक्षमा तेस्रो पटक रामजी घिमिरे पुनः प्रतिस्पर्धामा छन् भने उनलाई सहअध्यक्ष ओमप्रसाद उपाध्यायले चुनौती दिदैछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
