काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज अजरबैजान जाने भएका छन् ।
अजरबैजानको बाकुमा हुने प्रधानमन्त्री बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । नेपाल लगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि बाकु जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट सीधैं बाकु पुगिसकेका छन् ।
प्रधानमन्त्री ओली सम्मेलन सकाएर कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
