Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिलगंगामा सफल भएको चमत्कारिक शल्यक्रिया


  • मंगलबार, कार्तिक ५ २०७६

  • तिलगंगामा सफल भएको चमत्कारिक शल्यक्रिया

    डाक्टर भगवान सावित भएका छन् भने अस्पताल मन्दिर

     

    बाबुआमालाई सबै भन्दा बढि पिडा हुने भनेको आफ्नो सन्तान विरामी पर्दा हो । आँखामा दुई किलो भन्दा बढिको ट्युमर भएको सानो ४ वर्षको छोरा च्यापेर उपचारको लागि भारतको विभिन्न अस्पताल हुदैं काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठान आइपुगेका भारत आसामका अब्दुल काईयुम बड्बैया दम्पतिलाई अहिले जीवनमा कल्पना नगरेको खुशी मिलेको छ ।


    दुःख सुखका साथ जिवन आफ्नै तफ्तारमा बढि रहेको थियो । चौथो सन्तान पछि पाचौं सन्तानको रुपमा छोरा जन्मियो । तर पाचौं सन्तानको स्वास्थ्यमा नसोचेको समस्या आइलाग्यो । आँखामा सानो मासु पलाउन थाल्यो । अशिक्षित दम्पतिले सामान्य रुपमा नै लिए । तर पछि आँखामा पलाएको मासु विस्तारै बढ्न थाल्यो । ठुलो हुँदै गएपछि अस्पताल धाउन थाले । विभिन्न अस्पताल जाँदा पनि उपचार हुन सकेन । दुई चोटि अप्रेसन पनि भयो । तर छोराको रोग निको हुने लक्षण देखिएन ।
    आँखामा रेटिनोब्लास्टोमा भएको देखियो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा निको भएन । समस्या झन बढ्दै गयो, बाबु आमाको निद्रा हराउन थाल्यो ।

    एकातिर पैसाको अभाव, अर्कोतिर छोराको आँखामा पलाएको मासु बढ्दै जानुको साथै रगत पनि बग्न थाल्यो । उपचारको लागि भौतारिएका यी दम्पतिले आँखाको उपचार नेपालमा राम्रो हुन्छ भन्ने सुनेर झापाको मेचि आँखा अस्पतालमा देखाए । त्यहाँ उपचार सम्भव नहुने देखेपछि त्यहाँका डाक्टरले काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा उपचार हुने बताएपछि मनमा झिनो आशा बोकेर काठमाडौं छिरे । साथमा आर्थिक अभावको पिरलो त थिदै थियो । मनभरी आशा लिएर काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठान आए । गरिविको चपेडामा रहेका दम्पतिसंग भएको थोरै पैसा पनि उपचार गर्र्दा सकिएको थियो । छोराको आश मारिसकेका दम्पतिलाई डा.बेन लिम्बुसहितको टोलीले चमत्कारिक खुशी दियो । उनको ४ वर्षको छोरोको जटिल शल्यक्रिया सफलता पूर्वक सम्पन्न गर्न डाक्टर लिम्बुको टोली सफल भयो ।
    डा. लिम्बुको नेतृत्वमा डा.निशा श्रेष्ठ, डा. जोशेफ र डा. प्रकृति पोख्रेल रहेका थिए । अस्पताल प्रशासन र डाक्टरको टोलिले मृत्युको मुखमा पुगेको बच्चालाई नयाँ जिवन दिएको छ, त्यो पनि निशुल्क ।

    अकुलोप्लाष्टिक सर्जन डा. बेन लिम्बु

    उपचारको लागि आवश्यक पैसा नभएको थाहा भएपछि डाक्टर लिम्बुसहितको टोली र अस्पतालले मानवता पनि हेर्यो । छिमेकी देशबाट आएको एउटा गरिबले आज यो विरानो ठाउँमा पनि खुशीको सास फेर्न सके । अहिले छोरोले नयाँ जिवन पाएपछि दम्पतिको मुहारमा खुशीको भाव प्रष्ट देखिन्थो । हिन्दी पनि राम्रोसंग बोल्न नसक्ने यी दपम्तीलाई डाक्टर भगवान सावित भएका छन् भने अस्पताल मन्दिर ।
    डा. लिम्बु १८ वर्षको अनुभवमा धेरै जटिल शल्यक्रिया गरेपनि यो केसको जस्तो जटिल भने कम हुने गरेको बताउँछन् । जोखिम मोलेर बच्चाको शल्यक्रिया गरेको डाक्टरहरु बताउँछन् । समाजसेवामा बढि रमाउने डा. लिम्बु पैसा भन्दा पनि मानवता हेर्ने डाक्टरमा पर्दछन् । उनले देशका विभिन्न भागमा आँखाको निशुल्क शिविरहरु सञ्चालन समेत गर्दै आएका छन् भने गरिवको लागि निशुल्क उपचार गर्दै आएका छन् । सहयोग जुटाएर भएपनि उनी गरिवको सेवामा सर्मपित छन् ।

     

    एनेस्थेसियोलोजीष्ट डा. प्रकृति पोख्रेल

    यो बच्चाको उपचारका लागि तिलगंगा आँखा अस्पतालले ठुलो जोखिम र चुनौति लिएको थियो । एक तर्फ बच्चा त्यसमाथि पनि बच्चाको शरिरमा रगतको कमि हुँदा अप्रेषनको लागि सबै भन्दा बढि चुनौति हुने एनेस्थेसियोलोजीष्ट डा. प्रकृति पोख्रेल बताउँछिन् । त्यो चुनौतिलाई डाक्टर र अस्पतालले सफलतामा बदल्न सकेकोमा डा. पोख्रेल खुशी व्यक्त गर्छिन् । ४ वर्षिय साहिल्दुल इस्लामको उपचारमा अस्पताल र उपचारमा सम्लग्न डाक्टरको टोलीले धेरै मेहनत गरेको छ ।
    डाक्टरले अप्रेसनको लागि ब्लड ल्याउन लगाएका थिए तर ति दम्पतिले अस्पतालमा बुझाउनुको साटो आफु बस्ने होटलमा राखेपछि पहिलो शल्यक्रिया नै सार्नु परेको उपचारमा संलग्न डा. पोख्रेलले अनुभव सुनाइन् ।
    भाषाको समस्या, सहयोगीको अभाव र आर्थिक रुपमा कमजोर हुँदा पनि अस्पतालले एउटा मानवताको अनुभुति गराएको छ, त्यो पनि छिमेकी देशको नागरिकलाई । यसले नेपालमा जटिल उपचार गर्न सम्भव छ भन्ने कुरा पनि प्रमाणित गरेको छ भने अर्को तर्फ नेपालमा पैसाको कारण बिरामी मर्नु पर्दैन भन्ने सन्देश दिएको छ ।
    छोरोको उपचार भएपछि दम्पति खुशी हुनेनै भए, यसका साथै उपचारमा संलग्न डाक्टरहरु पनि खुशी छन् । बालकले समयमा नै सहि उपचार पाएको भए आज यति धेरै दुःख र कष्ट व्यहोर्नु पर्ने थिएनन होला ।
    रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकामा लाग्ने रोग हो । देख्दा सामान्य लाग्ने तर समयमा रोगको पहिचान हुन नसकेमा ज्यान नै जान सक्छ ।
    नेपाल लगायत विकासउन्मुख देशहरुमा यो रोगको बारेमा आवश्यक जानकारी नहुनु र शिक्षाको कमिको कारण पनि धेरै बालबालिकाहरु आफ्नो ज्यान घुमाउन विवश छन् ।
    विशेषगरि अभिभावकमा शिक्षाको कमि र सुविधा सम्पन्न अस्पतालहरुको अभाव र कमजोर आर्थिक अवस्थाले कतिपय विरामीहरु समयमा अस्पताल जान सकेका छैनन् ।

     


    नेपालमा आँखासंग सम्बन्धित रोगको उपचार राम्रो हुने भएपनि जनचेतना र पैसाको कमिको कारण समयमा उपचार गर्न नपाउदा बालबालिकाको स्वास्थ्य समस्या जटील बन्ने गरेको चिकित्सकहरु बताउछन । तर अस्पताल पुगेका धेरै विरामीको उपचार भएको छ ।
    तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा. बेन लिम्बुका अनुसार यो रोगको मुख्य लक्ष्यणहरुमा शिशुको आँखाको नानी सेतो देखिनु, आँखा डेडो हुुनु, असामान्य रुपमा आँखाहरु रातो हुनु र आँखा ठुलो हुुनु वा आँखा बाहिर निस्कनु जस्ता लक्षण रहेका छन् ।
    डा. लिम्बुका अनुसार डिजिटल क्यामेरा वा मोबाइलले अध्यारो कोठामा बच्चाको फोटो खिच्दा आँखाको नानी सेतो देख्नु सामान्य हो । तर रातो र सेतो देखिएको खण्डमा चिकित्सकसंग परामर्श लिनु पर्छ ।
    आँखाको अल्ट्रासाउड, आँखा तथा मस्तिष्कको सिटि स्क्यान वा एमआरआई गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ । उनका अनुसार १० देखी २० हजार शिशु मध्ये एकमा यस्तो रोग देखिने गरेको छ ।
    नेपाल लगायत विकासोन्मुख देशहरुमा सो रोगबाट हुने मृत्युदर अधिकतम सख्या ७० प्रतिशत रहेको छ भने विकसित देशहरुमा १ प्रतिशत भन्दा कम रहेको छ तर नेपालमा मृत्युदर बढ्नुको मुख्य कारण भनेको जनचेतनाको कमि नै हो ।
    डा.लिम्बु भन्छन् – बालबालिकाहरुको नियमित रुपमा आँखा परिक्षण गर्नु राम्रो हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij