काठमाडौँ – यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिँदैछ । सुरुमा थपिएको १३ दिनको समयसीमामा अनुसन्धान पूरा नभएपछि महरालाई फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइन लागेको हो ।
जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।
जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । संसद सचिवालयमै कार्यरत एक महिलालाई उनको तीनकुनेस्थित कोठामा गएर महराले असोज १२ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
