बारा – नेपाल–भारत पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको औपचारिक उद्घाटन भएको छ । मंगलबारदेखि भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइप लाइनबाट डिजेल आउन थालेको हो ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर आयोजनाको उद्घाटन गरेका छन ।
उद्घाटनसँगै बिहारको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रन सुरु भएको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइने नेपाल आयाल निगमले जनाएको छ ।
मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।
पाइप लाइनबाट दैनिक झण्डै ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक २ अर्ब रुपैयाँ ढुवानी खर्च जोगिने छ ।
पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।
देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।
पाइपलाइन परियोजनाको लागत २ अर्ब ७५ करोड भारतीय रुपैयाँ अर्थात ४ अर्ब ४० करोड नेपाली रुपैयाँ रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
