Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ठमेलको मनि एक्सचेन्जबाट २९ लाख साटेको खुलासा


  • सोमबार, भाद्र १६ २०७६

  • ठमेलको मनि एक्सचेन्जबाट २९ लाख साटेको खुलासा

    काठमाडौँ– नबिल बैंकको काठमाडौँको दरबारमार्गमा रहेको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप प्रमाणहरु फेला पारेको छ ।
    शनिबार प्रहरीले एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए । भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।
    भागेकाहरुमध्ये २ जनाले काठमाडौको ठमेलस्थित डेक्सो मनि एक्सचेन्जबाट २९ लाख ९९ हजार रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा डेक्सो मनि चेन्जरबाट झण्डै ३२ हजार डलर साटेको भेटिएको हो ।
    आठ जनाको समूहमा रहेका चिनियाँ लुटेराहरुमध्ये अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । बाँकी २ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    शनिबार पक्राउ परेकाहरूको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ ।
    प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १–१ थान समेत बरामद गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij