Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ – रवि लामिछाने


  • मंगलबार, भाद्र १० २०७६

  • पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ –  रवि लामिछाने

    काठमाडौँ -पत्रकार शालिकाम पुडासैनीक प्रकरणमा पक्राउ परेर धरौटिमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् ।
    आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गरेका हुन् ।
    उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा आउनुहोस्, लाइभ बहस गर्न सक्छु । मलगायत मेरो टीमको कसैले पनि कहाँ–कहिले पैसा खायो भनेर प्रमाणित गरिदिनुहोस् । म यो पत्रकारिता जस्तो पवित्र पेसामा बस्दिनँ ।’
    उनले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिए ।
    लामिछानेले आफू २–४ करोड कमाउनका लागि आफ्नो ज्यान हत्केलामा नराखेको पनि जिकिर गरे । ‘पैसाको लोभ हुँदो हो भने यो जीवन छान्ने थिइनँ,’ उनले भने ।
    प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँगको व्यक्तिगत दुश्मिनीबारेको प्रश्नमा उनले श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएको बताउँदै आफ्नो कुनै व्यक्तिगत रिसिइबी नभएको बताए ।
    त्यस्तै, राजनीतिमा आउने विषयमा लामिछानेले सञ्चारकर्मबाट नै देशमा योगदान पुर्याउने आफ्नो सोच रहेको स्पष्ट पारेका छन् ।

    लामिछानेले अदालतले केही मुद्दामा चर्चा नगर्न आदेश दिएकाले आफूले त्यसलाई शिरोधार्य गर्दै सम्मानित अदालतको गरिमामा कुनै पनि आँच नआउने गरी अभिव्यक्तिहरु राख्ने स्पष्ट पारे ।
    सीधा कुरा जनतासँगको कार्यक्रममा आगामी शनिबारदेखि उपस्थित हुने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘यो परिवर्तन पनि हुनसक्छ, टीमसँग छलफल भएको छैन ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij