काठमाडौं -ग्राण्डी अस्पतालमा उपचारका क्रममा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।
गोल्फुटारकी निशा तामाङले २० असारमा जुम्ल्याह बच्चा जन्माएकी थिइन्, जसमध्ये एकको साउन ६ गते मृत्यु भएको छ ।
चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको परिवारको दाबी छ ।
अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको बताएको छ तर परिवार यसलाई मान्न तयार छैन । सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेको र डाक्टर र नर्सको लापरवाहीक्को कारण मृत्यु भएको निशाका श्रीमान् दोर्जेको आरोप छ ।
उनीहरूले बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई आग्रह गरेका थिए तर, सुनुवाइ नभएका कारणा आन्दोलन गर्न बाध्य भएको परिवारका सदस्यको आरोप छ ।
दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्वीकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ। भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनी बताउँछन्।
‘महंगो अस्पताल भन्दैमा उपचार राम्रो हुन्न भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेको हुँ’ उनी भन्छन्, ‘त्यही दिन अर्को बच्चालाई अर्को अस्पताल नलगेको भए जे पनि हुन सक्ने रहेछ ।’
दोर्जेकाअनुसार एउटा बच्चाको मृत्यु भएपछि उनीहरुले अर्को बच्चालाई इशान बाल अस्पताल पुर्याएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
