काठमाडौं – लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ।
इजिप्टको कायरोस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठनले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ। थप छ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन्। जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ। तीमध्ये धेरैजसो मानव तस्करीको जालोमा परेर लिबिया पुगेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
