Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुठभेडमै विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका हुन् : गृहमन्त्री


  • सोमबार, असार ९ २०७६

  • मुठभेडमै  विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका हुन् : गृहमन्त्री

    काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका छन् ।
    सोमबार संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरेका छन् ।
    पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तरदक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।
    गृहमन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’
    घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी पनि मन्त्री थापाले गराए । साथै बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ ।

    विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाको भनाइ छ ।
    त्यसबारे व्यापक जनगुनासो बढेपश्चात जिल्ला प्रहरी कार्यालय सर्लाहीले गस्ती, निगरानी लगायतका गतिविधि बढाउने क्रममा यही असार ५ गते पौडेल मारिएको थापाले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij