काठमाडौं – जनकपुरमा ६ वर्ष अघि पाँच जनाको ज्यान जाने गरि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहसहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
आइतबारदेखि न्यायाधीश राजेश कुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाई चलिरहेको थियो।
जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो।
उक्त बम विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो। दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा जनकपुरबाट जितेका थिए।
पहिलो संविधानसभा चुनावमा जितेका बेला संजय साह राज्यमन्त्री समेत भएका थिए । बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखेको थियो ।
साह माथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाका रहेको अभियोग समेत लागेको छ।
उक्त हत्याकाण्ड लगायत साहका अरू मुद्दाहरूपनि अदालतमा विचाराधीन छन्। तीनमा बैशाखको पहिलो हप्ता देखि बहस सुरू हुने श्रेष्तेदार झाले बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
