काठमाडौं– ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ।
आज अख्तियारले प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार उनको वैधानिक आय जम्मा ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रूपैयाँ छ। तर उनले विभिन्न ठाउँमा गरेको लगानी र खर्च जोड्दा उनको सम्पत्ति १९ करोड ७४ लाख ५५ हजार ८ हजार १६ रूपैयाँ देखिएको थियो। वैधानिक रकम घटाउँदा उनको स्रोत नखुलेको सम्पत्ति १० करोड ११ लाख हुन्छ। तर अख्तियारले भने स्रोत नखुलेको सम्पत्तिबाट ४ करोड बढीबढाउ रकमलाई पनि स्रोत नखुलेको भन्दै १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको हो। २०५३ सालमा सरकारी सेवा प्रवेश गरेपछिको उनको सम्पत्ति अनुसन्धान र विश्लेषण गरी अख्तियारले उनी माथि भ्रष्टाचार मुद्दा लगाएको हो।
उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा २० बमोजिम २ वर्षसम्म कैद र १४ करोड नै जरिवाना तिराउनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ। त्यस्तै १४ करोड ६१ लाख रूपैयाँ बराबरको सम्पत्ति उनी, उनको परिवार र आफन्तबाट जफत गर्न पनि अख्तियारले भनेको छ।
यसरी विगो जफत गरेपछि त्यति नै जरिवाना पनि तिराउनुपर्ने अख्तियारको माग छ। उक्त सम्पत्ति जफत गर्नकै लागि भनेर अख्तियारले उनका बुवाआमा, दुवैजना श्रीमती, भाइ र भाइबुहारीलाई पनि अख्तियारले श्रेष्ठको मुद्दाका प्रतिवादी बनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
