नेपालको दुःखमा बेलायतको साथ: Gareth Thomas MP को निरन्तर पहल र बेलायत सरकार सँग थप सहयोगको अभियान:नेपाल र नेपालीको दुःखमा म सदैव साथमा छु— Gareth Thomas MP/
नेपालमा आएको विनाशकारी बाढी तथा ग्लेसियर फ्ल्यास फ्लडका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल र नेपाली समुदायको पीडालाई बेलायतको संसद् र सरकार सम्म पुर्याउने अभियानले महत्वपूर्ण गति लिएको छ।यस अभियानमा बेलायतका सांसद तथा पूर्वमन्त्री माननीय Gareth Thomas MP ले देखाउनुभएको निरन्तर चासो,सक्रियता र मानवीय संवेदनशीलता प्रशंसनीय छ।
नेपालसँग विशेष सम्बन्ध रहेको बेलायतको Harrow समुदायमा समेत यस विपत्तिले गहिरो चिन्ता र पीडा उत्पन्न गरेको छ। नेपालमा रहेका आफन्त,परिवार, साथीभाइ तथा समुदायका सदस्यहरूको अवस्थाबारे बेलायतमा रहेका नेपालीहरू निरन्तर चिन्तित छन्। यही संवेदनशील परिस्थितिमा नेपालका बाढीपीडितहरूको आवाज बेलायत सरकारसम्म पुर्याउन Gareth Thomas MP ले निरन्तर पहल गर्दै आउनुभएको छ।
संसद् र सरकार समक्ष नेपालको आवाज
नेपालमा विनाशकारी बाढी आएको खबर प्राप्त हुनासाथ Gareth Thomas MP ले बेलायतको संसद्मा नेपालको अवस्थाबारे विषय उठाउनु भयो। उहाँले बेलायतका विदेशमन्त्री Rt Hon Ed Miliband MP लाई प्रत्यक्ष भेट गरी नेपालको अवस्थाबारे जानकारी गराउँदै तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको थियो।
त्यसपछि पनि उहाँले सम्बन्धित बेलायती मन्त्री तथा सरकारी अधिकारीहरूसँग निरन्तर भेटघाट र संवाद गर्दै नेपालका बाढीपीडितका लागि बेलायत सरकारको सहयोग अझ बढाउन आग्रह गर्नुभएको छ।
उहाँले Hamish Falconer MP, Kirsty McNeill MP तथा Baroness Rosie Winterton लगायत सम्बन्धित मन्त्रीहरूसँग समेत नेपालको अवस्थाबारे छलफल गरी मानवीय सहायता,राहत तथा पुनर्स्थापनाका लागि थप सहयोग आवश्यक रहेको विषय उठाउनुभएको जानकारी दिनुभएको छ।
यो केवल एउटा औपचारिक राजनीतिक पहल होइन।विपत्तिको समयमा हजारौँ नेपाली परिवारले भोगिरहेको पीडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने एउटा महत्वपूर्ण मानवीय प्रयास हो।
FCDO सँग निरन्तर संवादपछि बेलायत सरकारको प्रतिक्रिया
नेपालका बाढीपीडितका लागि थप सहयोगको माग गर्दै Gareth Thomas MP र नेपाली समुदायका तर्फबाट गरिएको निरन्तर पहल तथा Foreign, Commonwealth & Development Office (FCDO) सँग भएको संवाद पछि बेलायत सरकारका तर्फबाट Stephen Doughty MP, Minister of State for Consular and Crisis, तथा The Rt Hon’b the Baroness Winterton of Doncaster DBE, Minister for the Indo-Pacific,ले बेलायती संसद्का सदस्यहरूलाई नेपाल–चीन सीमा क्षेत्रमा भएको विनाशकारी बाढीबारे विस्तृत जानकारी सहित पत्र पठाउनुभएको छ।
उक्त पत्रमा बेलायत सरकारले प्रभावित परिवार तथा समुदाय प्रति सहानुभूति व्यक्त गर्दै बेलायती नागरिक र उनीहरूका परिवारलाई सहयोग गर्न FCDO का Consular तथा Family Liaison Officers निरन्तर परिचालित रहेको उल्लेख गरेको छ।
बेलायतले नेपालका लागि £5 million को मानवीय सहायता प्याकेज उपलब्ध गराइरहेको र उक्त सहयोगबाट आकस्मिक आश्रय,स्वास्थ्य सेवा, खाद्यान्न,स्वच्छ पानी तथा सरसफाइ जस्ता अत्यावश्यक मानवीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।
यसका साथै नेपालमा FCDO Rapid Deployment Team परिचालन गरिएको,थप कन्सुलर तथा मानवीय विशेषज्ञहरू पठाइएको तथा नेपाली र चिनियाँ अधिकारी एवं अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय भइरहेको पनि पत्रमा उल्लेख छ।
यो प्रतिक्रिया नेपालका लागि सहयोगको माग गर्दै निरन्तर आवाज उठाइरहेका सबैका लागि महत्वपूर्ण उपलब्धि हो।
Gareth Thomas MP को नेपालसँगको पुरानो सम्बन्ध र प्रतिबद्धता:
Gareth Thomas MP ले नेपाल प्रति आफ्नो चासो अहिलेको विपत्तिबाट मात्र उत्पन्न भएको नभई लामो समयदेखि रहँदै आएको बताउनुभएको छ।
उहाँले बेलायत सरकारमा International Development and Assistance Minister को जिम्मेवारीमा रहँदा समेत नेपाललाई बेलायतबाट प्राप्त हुने सहयोग बढाउन पहल गर्नुभएको स्मरण गर्नुभएको छ।
सन् २०१५ को विनाशकारी भूकम्प पछि नेपाली जनताको पीडा र क्षतिको प्रत्यक्ष अवलोकन गर्न तथा नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्न उहाँ स्वयं नेपाल पुग्नुभएको थियो।
आज फेरि नेपाल विपत्तिमा परेको समयमा उहाँले बेलायतको संसद् र सरकार भित्र नेपालको आवाज उठाउनु भएको छ।
उहाँको भनाइमा “नेपाल र नेपाली जनताको दुःखमा म सदैव साथमा छु।”यही एउटा वाक्यले पनि विपत्तिको समयमा देखाइएको मानवीय ऐक्यबद्धताको गहिरो अर्थ बोकेको छ।
आर. के. त्रिपाठीको निरन्तर पहल:
यस अभियानमा बेलायतबाट आर. के. त्रिपाठीले पनि Gareth Thomas MP सँग निरन्तर सम्पर्क,संवाद तथा बौद्धिक र रचनात्मक सहकार्य गर्दै नेपाललाई थप सहयोग उपलब्ध गराउन बेलायत सरकार समक्ष आवाज उठाउन आग्रह गर्दै आउनु भएको छ।
नेपालको अवस्था, बाढीपीडित परिवारको पीडा तथा तत्काल आवश्यक सहयोगका विषयमा निरन्तर जानकारी आदान प्रदान गर्दै उहाँले Gareth Thomas MP लाई नेपालका लागि थप पहल गर्न अनुरोध गर्दै आउनु भएको छ।
Gareth Thomas MP ले पनि आफ्ना पहल,सम्बन्धित मन्त्रीहरूसँग भएका भेटघाट तथा बेलायत सरकारबाट प्राप्त जानकारीबारे आर. के. त्रिपाठीलाई निरन्तर जानकारी गराउँदै आउनु भएको छ।यस प्रकारको निरन्तर संवादले नेपालमा भएको विपत्तिको आवाज बेलायतको संसद् र सरकारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ।
सहानुभूति मात्र होइन, ठोस सहयोग आवश्यक
नेपालमा आएको विपत्तिले घर,पूर्वाधार, सडक,पुल र समुदायहरूमा ठूलो क्षति पुर्याएको छ। प्रभावित परिवारहरू अहिले तत्कालीन राहतसँगै पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणको चुनौतीमा छन्।त्यसैले अहिले नेपाललाई केवल सहानुभूतिको शब्द मात्र होइन,ठोस मानवीय सहायता,राहत, पुनर्स्थापना,पूर्वाधार पुनर्निर्माण र दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ।
बेलायत सरकारसँग नेपालका प्रभावित समुदायका तत्कालीन आवश्यकता पूरा गर्न थप सहयोग गर्न तथा अन्य मित्रराष्ट्र र अन्तर्राष्ट्रिय साझेदारहरूलाई समेत नेपालका लागि सहयोगको हात बढाउन अपिल गर्नुपर्ने समय यही हो।
दुःखको समयमा “तिमीहरू एक्ला छैनौ”भन्ने सन्देश:
प्राकृतिक विपत्तिले नेपालीहरूको घर भत्काउन सक्छ, पूर्वाधार ध्वस्त पार्न सक्छ,परिवारलाई पीडा दिन सक्छ तर नेपालीको आशा,साहस र एकताको भावना भत्काउन सक्दैन।
यस्तो कठिन समयमा बेलायतको संसद् र सरकारभित्र नेपालका लागि आवाज उठ्नु, नेपालीहरूको पीडालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नु र “तिमीहरू एक्ला छैनौ”भन्ने अनुभूति दिलाउनु आफैंमा ठूलो मानवीय कार्य हो।यसका लागि माननीय Gareth Thomas MP प्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ। नेपाल र नेपाली जनताको दुःखलाई आफ्नो आवाज बनाउनु भएकोमा उहाँ प्रति नेपाली समुदाय सधैँ आभारी रहनेछ।
त्यसैगरी नेपालका बाढीपीडितप्रति सद्भाव र सहयोगको भावना व्यक्त गर्नुहुने Rt Hon Ed Miliband MP तथा बेलायत सरकारका सम्बन्धित मन्त्रीहरू र अधिकारीहरूप्रति पनि हार्दिक धन्यवाद।
नेपालको दुःखमा बेलायतको साथ रहोस्।
नेपालका लागि आवाज अझ बलियो बनोस्।
पीडितका लागि सहयोग अझ बढोस्।
राहतसँगै पुनर्निर्माणको अभियान अघि बढोस्
“Every day,every hour, every minute,every second,we are praying for and paying tribute to the victims of the Nepal flash floods.
नेपालका लागि आवाज उठाऔँ।सहयोग जुटाऔँ।आशा जगाऔँ।
मानवताको जित होस्।
R K Tripathi
Senior engineer London
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
