काठमाडौंस्थित पाकिस्तान दूतावासले आज १० मे २०२६ मा ‘मार्का–ए–हक दिवस’ राष्ट्रिय गौरव र सम्मानका साथ मनाएको छ। दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले एक विशेष समारोहबीच राष्ट्रिय झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा दूतावासका अधिकारीहरू, पाकिस्तान समुदायका सदस्य, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री तथा उपप्रधान तथा परराष्ट्रमन्त्री इशाक दार का सन्देश वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारा नभई व्यावसायिक दक्षता, तीनवटै सुरक्षा निकायबीचको समन्वय तथा जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताएका छन्। उनले राष्ट्रका लागि ज्यान अर्पण गर्ने शहीदहरूप्रति सम्मान व्यक्त गर्दै सैनिकहरूको साहसको प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शहबाज शरीफले ‘यौम–ए–मार्का–ए–हक’ लाई अल्लाहप्रतिको कृतज्ञता प्रकट गर्ने दिनका रूपमा उल्लेख गर्दै कठिन परिस्थितिमा पाकिस्तानले देखाएको साहसिक अडानको स्मरण गरिएको बताएका छन्। उनले शहीद, उनीहरूका परिवार तथा मातृभूमिको रक्षाका लागि उभिएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
त्यस्तै, परराष्ट्रमन्त्री इस्हाक डारले दक्षिण एशियामा दीगो शान्तिका लागि जम्मु–कश्मीर समस्याको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्तावअनुसार न्यायोचित समाधान आवश्यक रहेको बताएका छन्। उनले पाकिस्तान संवाद, कूटनीति तथा आपसी सम्मानमार्फत विवाद समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

राजदूत हाश्मीले आफ्नो मन्तव्यमा पाकिस्तानको सार्वभौमिकताको रक्षा गर्न सशस्त्र बलले खेलेको भूमिकाको प्रशंसा गर्दै ‘मार्का–ए–हक’ ले राष्ट्रिय एकता, दृढता र आत्मविश्वासको प्रतीकका रूपमा काम गरेको बताएका छन्। उनले मुलुकको आकारभन्दा राष्ट्रिय संकल्प र शक्ति महत्वपूर्ण हुने धारणा पनि व्यक्त गरेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
